असोज २९ गते । भारतको पश्चिमी राज्य राजस्थानमा एक निजी बसमा भीषण आगलागी हुँदा कम्तीमा २० जनाले ज्यान गुमाएका छन्। सरकारी अधिकारीहरूका अनुसार मङ्गलबार बिहान जैसलमेर जिल्लाको थायत गाउँ नजिक चलिरहेको बसमा अचानक आगो लागेको थियो।
राजधानी जयपुरबाट करिब ५४८ किलोमिटर पश्चिममा रहेको उक्त स्थानमा भएको दुर्घटनामा बसमा सवार ५७ मध्ये अधिकांश यात्रु समयमै नउत्रँदा फसेर जलेका थिए।
प्रहरीका अनुसार बसको पछाडिको भागबाट धुवाँ निस्कन थालेपछि चालकले बस रोकेका थिए, तर केही मिनेटमै बस पूरै आगोमा परिणत भएको थियो।
घटनामा केही यात्रु गम्भीर घाइते भएका छन्। उनीहरूलाई नजिकको अस्पतालमा उपचारका लागि पठाइएको अधिकारीहरूले जनाएका छन्।
आगलागीको कारण औपचारिक रूपमा पुष्टि नभए पनि विद्युतीय तार सर्ट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ।
घटनास्थलमा प्रहरी र उद्धारकर्मीहरूले उद्धार कार्य जारी राखेका छन्।




