मुस्ताङ, असोज १७। लोघेकर दामोदरकुण्ड–२ घमी खोलामा सडक डाइभर्सन नहुँदा चीनबाट आयात भएका १८ वटा ‘हेभी’ मालबाहक ट्रली भन्सार कार्यालय न्हेचुङमै थन्किएका छन्।
जोमसोम–कोरला सडक खण्डअन्तर्गत घमी खोलामा अस्थायी पुलले भार थेग्न नसक्दा मंगलबारदेखि नै सिनो हाइड्रो पावर कम्पनीका उपकरण तथा निर्माण सामग्रीसहितका ट्रली रोकिएका हुन्।
प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद भुसालका अनुसार मझौला कन्टेनरहरू मुस्किलले तल झारिए पनि ठूला ट्रली पार गर्न नसक्ने भएकाले भन्सारमै रोकिएका हुन्। उहाँले अब दसैँपछि व्यवसायी र आयोजना मिलेर डाइभर्सन निर्माण गरेर समस्या समाधान गर्ने योजना रहेको बताउनुभयो।
लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल विष्टले कोरलानाका सञ्चालनमा आए पनि घमी खोलामा डाइभर्सन नहुँदा समस्या थपिएको बताए। व्यापारीसँग समन्वय गरी तत्कालीन समाधान खोज्ने प्रयास भइरहेको उहाँको भनाइ छ।
घमी खोलामा निर्माणाधीन पुल सात वर्षदेखि अधुरै छ। विसं २०७५ सालमा रु ६ करोड ८० लाख लागतमा हिमढुङ ठोक्कर एण्ड इमोटल जेभी कन्टक्सनसँग ठेक्का सम्झौता भए पनि हालसम्म मात्र करिब ७५ प्रतिशत भौतिक प्रगति भएको छ। आयोजनाले निर्माण कम्पनीलाई दैनिक हर्जाना लगाउँदै आएको भए पनि पुलको काम अघि बढ्न सकेको छैन।




