असोज १७, मकवानपुर। हेटौँडा–काठमाडौँ जोड्ने दुई सडकमा आजदेखि तीन दिनसम्म बेलुकाको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) स्किम श्रेष्ठले सूचना जारी गर्दै हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथमा असोज १७ गतेदेखि २० गतेसम्म हरेक दिन बेलुका ४ बजेपछि बिहान ६ बजेसम्म सवारी रोक लगाइएको जानकारी दिनुभयो। त्यस्तै, हेटौँडा–भैँसे–काठमाडौँ सडकमा भने बेलुका ५ बजेदेखि बिहान ६ बजेसम्म सवारीसाधन सञ्चालनमा रोक लगाइनेछ।
जल तथा मौसम विभागको पूर्वानुमानअनुसार असोज १७ देखि २० गतेसम्म मकवानपुरसहितका क्षेत्रमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेकाले सम्भावित जोखिमलाई ध्यानमा राखी यस्तो निर्णय गरिएको हो।
प्रजिअ श्रेष्ठले अत्यावश्यक कामबाहेक रातिको समयमा लामो दूरीको यात्रा नगर्न सबैलाई आग्रह गर्दै पहिरोको उच्च जोखिममा रहेका क्षेत्र र नदी किनारका बस्तीहरूमा विशेष सतर्कता अपनाउन स्थानीय तहलाई निर्देशन दिनुभएको छ।
यस्तै, विपद् पूर्वतयारी र प्रतिकार्यमा सबै निकायलाई सक्रिय रहन र जिल्ला विपद् व्यवस्थापन समिति तथा स्थानीय विपद् व्यवस्थापन समितिहरूसँग नियमित समन्वयमा रहन समेत आग्रह गरिएको छ।




