असोज २६ गते, काठमाडौं । देशभर डेङ्गु सङ्क्रमण तीव्र बनेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)का अनुसार हालसम्म डेङ्गु सङ्क्रमणबाट ४ जनाको मृत्यु भएको छ भने ७५ जिल्लाका ५ हजार ८७४ जनामा संक्रमण पुष्टि भएको छ ।
महाशाखाको कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालका अनुसार अहिलेसम्म डोल्पा र मनाङ गरी दुई जिल्लामा मात्र डेङ्गु पुष्टि भएको छैन ।
डेङ्गु रोग एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने रोग हो, जसले सफा पानी जम्मा भएको स्थानमा अण्डा दिन्छ ।
सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार डेङ्गुका मुख्य लक्षणमा असाध्य शरीर दुख्ने, उच्च ज्वरो, खाना खान मन नलाग्ने, पखाला लाग्ने, टाउको दुख्ने, जोर्नी र मांसपेशी दुख्ने, आँखाको गेडी दुख्ने, शरीरमा राता बिमिरा आउनु, वाकवाकी वा वान्ता हुने समावेश छन् ।
डा. पुनले डेङ्गु लागेको शंका लागेमा स्वास्थ्यकर्मीको सल्लाहमा मात्र औषधि सेवन गर्न र ज्वरो वा श्वासप्रश्वासमा समस्या भए तुरुन्त स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गर्नुभएको छ ।
चिकित्सकहरूले डेङ्गुको जोखिम आगामी कात्तिकसम्म रहन सक्ने भएकाले थप सतर्कता अपनाउन सबैलाई अनुरोध गरेका छन् ।




