असोज ३ गते, चितवन ।
चितवन जिल्लाका दुई छुट्टाछुट्टै स्थानमा आइतबार राति र सोमबार बिहान भएका सवारी दुर्घटनामा एकजनाको मृत्यु र तीनजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, पूर्व–पश्चिम राजमार्गको लदरी पुल र भरतपुरको धर्मचोकमा दुर्घटना भएका हुन् ।
पहिलो घटना खैरहनी नगरपालिका–२, लदरी खोला पुलमा भएको हो, जहाँ रोकिराखेको एचआर–३८एएफ–६१२६ नम्बरको ग्यास बुलेटमा बागमती प्रदेश–०३–००२ प–३२३० नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालक ५ वर्षीय मनिश बोगटीको ज्यान गएको हो ।
प्रहरी नायब उपरीक्षक रविन्द्र खनालका अनुसार, गम्भीर घाइते बोगटीलाई उपचारका लागि पुरानो मेडिकल कलेज, भरतपुर लगिएको थियो तर चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनापछि ग्यास बुलेट सडकमै रहेको र बाटो अवरुद्ध नभएको प्रहरीले जनाएको छ ।
भारत बिहार राज्य सिवान जिल्लाका ५९ वर्षीय चालक दशरथ प्रसादलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय खैरहनीमा राखिएको छ ।
त्यसैगरी, सोमबार बिहान ४ः३० बजे भरतपुर महानगरपालिका–४ धर्मचोकमा अर्को कार दुर्घटना भएको हो ।
लु–३–च–५३५७ नम्बरको कार चौबिसकोटीबाट बिशालचोकतर्फ जाँदै गर्दा अनियन्त्रित भई बाटोको डिभाइडरमा ठोक्किँदा चालकसहित तीनजना घाइते भएका हुन् ।
घाइतेहरूमा सन्दीप गुरुङ (३१), सुनवल नगरपालिका–३, नवलपरासी, सुबास थापा (३०), सैनामैना नगरपालिका–७, रुपन्देही, सरोज श्रेष्ठ (३०), भूमिका गाउँपालिका–८, अर्घाखाँची
रहेका छन् । तिनीहरूको उपचार हाल पुरानो मेडिकल कलेज, भरतपुरमा भइरहेको प्रहरीले जनाएको छ ।





