कात्तिक १८ गते, काठमाडौं — सामाजिक सञ्जालमार्फत नाबालिकाको चरित्र हत्या गरेको आरोपमा सिराहा कल्याणपुर नगरपालिका–११ का २२ वर्षीय जीवन कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।
साइबर ब्यूरोका अनुसार साहले म्यासेन्जरमार्फत कुराकानी गर्दै पीडितलाई ललाई–फकाई संवेदनशील अंग देखाउन लगाई अश्लील तस्बिर र भिडियो सङ्कलन गरी ती सामग्रीलाई फेक फेसबुक एकाउन्टमार्फत सार्वजनिक गरेका थिए।
पीडित पक्षबाट परेको उजुरीका आधारमा साइबर ब्यूरोको टोलीले सिराहाबाट साहलाई पक्राउ गरी काठमाडौं ल्याएको हो।
उनविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ।
जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप अनुमति लिइएको र थप अनुसन्धान जारी रहेको साइबर ब्यूरोले जनाएको छ।




