कात्तिक १८ गते, स्याङ्जा — स्याङ्जा र पाल्पाको सङ्गमस्थल रामनदीधाम राम्दीस्थित कालीगण्डकी नदीमा एक किशोर एक सातादेखि बेपत्ता भएका छन्।
गत बुधबार स्याङ्जाको गल्याङ नगरपालिका–१, राम्दीमा पौडी खेल्ने क्रममा कैलालीको लम्कीचुहा नगरपालिका–१ का १५ वर्षीय बखत शाही बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक प्रसन्नराज चौधरीका अनुसार, बेपत्ता शाहीको खोजी कार्य निरन्तर जारी छ।
शाही आफ्ना साथीहरूसँग पोखरा भ्रमणमा आएका थिए। सोही क्रममा उनी र १६ वर्षीय बिराज न्यौपाने कालीगण्डकीमा पौडी खेल्न पसेका थिए। पौडी खेल्ने क्रममा दुवै जनालाई नदीले बगाएकोमा न्यौपानेलाई सकुशल उद्धार गरिएको थियो।
बेपत्ता शाहीको खोजीका लागि सशस्त्र प्रहरी बल विपद् व्यवस्थापन समूह स्याङ्जा, नेपाल प्रहरी र आफन्तजनको संयुक्त टोलीले प्रयास जारी राखेको छ।
सशस्त्र प्रहरी बलको तालिम प्राप्त टोलीले ‘¥याफ्टिङ बोट’को सहायताले घटनास्थल र तलतिरका क्षेत्रमा खोजी कार्य तीव्र पारेको प्रहरी नायब उपरीक्षक चौधरीले जानकारी दिनुभयो।




