कात्तिक १८ गते, नवलपरासी — पश्चिम नवलपरासीको सुनवलमा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन्।
सुनवल नगरपालिका–१३ घ्युँडल्ला बस्ने ५५ वर्षीया भीमकला थापाको उनका श्रीमान् ६२ वर्षीय खड्गबहादुर थापाले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घरको गेटबाट बाहिर निस्कने क्रममा श्रीमानले भीमकलामाथि खुर्पा (हसिया) प्रहार गरेका थिए। गर्धन र ढाडमा गम्भीर चोट लागेकी उनलाई उपचारका लागि बुटवल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डिएसपी वीरदत्त पन्तका अनुसार आरोपी श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान जारी छ।




