सल्यान, मंसिर १२ गते । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–८ स्थित सडकखण्डमा शुक्रबार दिउँसो शैक्षिक भ्रमणमा जाँदै गरेको जिप दुर्घटना हुँदा १० जना विद्यार्थी तथा शिक्षक घाइते भएका छन्।
रा १ ज ८७१ नम्बरको उक्त जिप बनगाड कुपिण्डे–१२ स्थित श्री गोब्राही प्राथमिक विद्यालय बिरमखोला का विद्यार्थी तथा शिक्षकलाई लिएर आगानेटाबाट कुपिण्डेतर्फ जाँदै थियो। करिब १ बजे जिप अनियन्त्रित भई सडकमा पल्टिएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।
जिपमा सवार २० जनामध्ये १० जना घाइते भएका हुन्। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल सल्यान पुर्याइएको छ। घाइतेमध्ये ३८ वर्षीय टोपेन्द्र केसीको टाउकोमा चोट लागेर अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ। बाँकी घाइतेहरूको अवस्था मध्यम तथा सामान्य रहेको जनाइएको छ।
दुर्घटनापछि फरार रहेका जिप चालक सल्यान कालिमाटी गाउँपालिका–३ का २९ वर्षीय प्रकाश घर्तीलाई प्रहरीले शुक्रबार दिउँसो करिब २ बजे नियन्त्रणमा लिएको छ। घटनास्थलमा अस्थायी प्रहरी पोष्ट बाबियाचौरका प्रहरी सहायक निरीक्षक अब्दुल कलाम खाँको टोली तत्काल उद्धारका लागि खटिएको थियो।






