![]() |
| गोरखापत्र |
मङ्सिर ७ गते ।
सप्तरीको शम्भुनाथ नगरपालिका–१ मा क्रिकेट खेलेर घर फर्किएका दुई दाजुभाइमध्ये भाइको मृत्यु भएको र दाजु बेहोस भएर उपचाररत रहेका छन्।
शनिबार घर नजिकको खेल मैदानमा क्रिकेट खेलेर फर्किएलगत्तै १३ वर्षीय राकेश यादव अचानक बेहोस भई ढलेका थिए। उहाँको सोही क्रममा मृत्यु भएको राकेशका बुवा किसुनदेव यादवले बताएका छन्। त्यस्तै १६ वर्षीय दाजु रुपेश यादव पनि बेहोस भई अहिले लहानस्थित एक अस्पतालमा उपचार गराइरहेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीका अनुसार दुवै भाइको घटनाबारे अनुसन्धान भइरहेको छ।
मृत्युको कारण अहिलेसम्म स्पस्ट नभएको प्रहरीले जनाएको छ। स्थानीयहरूले खेल मैदान छेउका झारपातमा रहेको विषालु सर्पले डसेको हुन सक्ने वा बाटोमा केही विषादीयुक्त पदार्थ खाएपछि समस्या उत्पन्न भएको हुनसक्ने अनुमान गरेका छन्।
डीएसपी पुरीका अनुसार वास्तविक कारण पोस्टमार्टम रिपोर्ट आएपछि मात्रै खुल्नेछ। साथै दाजुको स्वास्थ्यस्थितिको निगरानी गर्दै घटनाका सबै पक्षमा थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।






