Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

गैरकानूनी सम्पत्ति आर्जन गर्ने डिभिजन वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध मुद्दा

 

कात्तिक १७ गते, काठमाडौं — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय इलामका तत्कालीन र हाल भोजपुरमा कार्यरत डिभिजनल वन अधिकृत दानबहादुर श्रेष्ठविरुद्ध गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार श्रेष्ठले २०४८ साल असार २६ गतेदेखि २०८० साल फागुन १६ गतेसम्मको अवधिमा आफ्नो पारिवारिक सदस्यहरूसहित वैधानिक आम्दानी र प्रमाणित खर्चको तुलनामा एक करोड ४३ लाख १८ हजार ९३७ रुपैयाँ ५२ पैसा बराबरको स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको पाइएको छ।

अनुसन्धानका क्रममा उनले पेश गरेको सम्पत्ति विवरणमा देखिएका तलब–भत्ता, पारिवारिक आय, जग्गा बिक्री, व्याज, शेयर, कृषिलगायतका वैधानिक आम्दानीहरूको तुलनामा उक्त रकम अस्वाभाविक रूपमा बढी रहेको अख्तियारले जनाएको छ।

सार्वजनिक सेवामा रहँदै पदीय अख्तियारको दुरुपयोग गरी गैरकानूनी सम्पत्ति आर्जन गरेको पुष्टि भएकाले अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०१७ र भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद, जरिवाना र बिगो असुल उपरको माग गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

त्यससँगै श्रेष्ठकी पत्नी नरमाया श्रेष्ठ, बुहारी भावना बरुवाल, र भावना बरुवाल सञ्चालक रहेको ‘फरेस्ट एन्ड इनभाइरोमेन्ट रिसर्च अर्गनाइजेशन प्रा.लि.’, भक्तपुरमा खरिद तथा लगानी गरिएका सम्पत्तिहरू समेत जफत गर्न माग गरिएको छ।

श्रेष्ठले आफ्नो वार्षिक सम्पत्ति विवरण फारममा वास्तविक सम्पत्ति लुकाएको पाइएकाले, अख्तियारले उनलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६(२) अनुसार झूटा विवरण पेश गरेको अभियोग पनि लगाएको जनाएको छ।

अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार, प्रतिवादीमाथि गैरकानूनी रूपमा आर्जन गरिएको सम्पत्ति जफत गरी असुल उपर गर्ने मागसहित आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो।

Top Post Ad

post bottom ads

Ads Bottom