कात्तिक २१ गते — विराटनगरस्थित बाल सुधार गृहमा पुनः फरारको घटना भएको छ। बिहीबार अपराह्न जेनजी आन्दोलनका क्रममा भागेर फर्किएका ९ जना बाल बिझ्याइँकर्ताले सुरक्षाकर्मीमाथि आक्रमण गरी फेरि भागेका हुन्।
बाल सुधार गृहका प्रमुख सञ्जिव न्यौपानेका अनुसार, कर्मचारीहरू कार्यालय बन्द गरेर घर फर्किने समयमा ती बिझ्याइँकर्ताले समूह बनाई ड्युटीमा रहेका प्रहरीमाथि कुटपिट गरी गेट खोलेर भागेका थिए। आक्रमणमा तीन जना प्रहरी घाइते भएका छन्।
फरार भएकामध्ये एक जना साँझमा आफैं सुधार गृहमा फर्किएका छन् भने अर्का एक जनालाई स्थानीयले समातेका छन्। बाँकी सात जना अझै फरार रहेको मोरङका प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिनुभयो। उहाँका अनुसार फरार भएकाहरू सबैको उमेर १८ वर्षभन्दा माथि छ।
एसपी कटवालका अनुसार, सुधार गृहको सुरक्षामा खटिएका प्रहरीसँग हतियार नहुने र २७–२८ वर्षसम्मका कैदी–बिझ्याइँकर्तालाई पनि त्यहीँ राख्नुपर्ने भएकाले बारम्बार सुरक्षा चुनौती सिर्जना हुने गरेको छ।
१५० जनाको क्षमता भएको बाल सुधार गृह विराटनगरमा हाल २६० जना बिझ्याइँकर्ता राखिएका छन्, जसका कारण व्यवस्थापन र सुरक्षामा कठिनाइ आइरहेको अधिकारीहरूले बताएका छन्।




