Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

तेन्जिङ दावा लामाका सबै कागजात नक्कली, प्रहरी अनुसन्धानले उदंगो पार्‍यो


काठमाडौँ, मङ्सिर ९ गते । गत भदौ २३–२४ गते नवयुवा (जेनजी) प्रदर्शनमा घुसपैठ गरी भिडलाई उत्तेजित बनाउने उद्देश्यले बुलेट मोटरसाइकल ठूलो आवाजमा पड्काउँदै चलाउने समूहका मुख्य योजनाकर्ता तेन्जिङ दावा लामाका नेपाली कागजातहरू नक्कली रहेको काठमाडौँ प्रहरीले पुष्टि गरेको छ।

काठमाडौँ जिल्ला प्रहरी परिसरले असोज २६ गते ‘तिब्बतीयन ओरिजिनल ब्लड (टिओबी)’ समूहका गतिविधि शङ्कास्पद देखिएपछि तेन्जिङसहित केही युवालाई नियन्त्रणमा लिएर विस्तृत अनुसन्धान अघि बढाएको थियो। सोमबार पत्रकार सम्मेलन गर्दै परिसरले जन्मदर्तादेखि नागरिकता, राहदानी र शैक्षिक कागजातसम्म सबै नक्कली भएको तथ्य सार्वजनिक गरेको हो।

परिसरका प्रमुख रमेश थापाका अनुसार तेन्जिङबाट फेला परेका कागजपत्र जारी भएको भनिएको सम्बन्धित निकायसँग प्रमाणीकरण गर्दा एकैनासँग अस्वीकृत भएका छन्। “सबै नेपाली कागजात पुष्टि हुन नसकेपछि नक्कली नागरिकता, नक्कली राहदानी, अभद्र व्यवहार तथा लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको छ,” थापाले बताए।

तेन्जिङको नागरिकतामा हजुरबुवा तेन्जिङ लामा र बुवा कृष्णबहादुर लामा भनेर उल्लेख भए पनि त्यो विवरण सत्यतारहित रहेको प्रहरीले जनाएको छ। उनले नक्कली ‘बावुआमा’ खडा गरी काठमाडौँ–६, बौद्ध क्षेत्रमा २०६३ चैत १० गते जन्मदर्ता बनाएको र त्यसैका आधारमा २०७९ असार २४ मा नागरिकता तथा राहदानी लिएको खुलेको हो। साथै उनले दाबी गरेको “बावुआमा दुवैको मृत्यु भइसकेको” तथा “आफू आफन्तको संरक्षणमा हुर्किएको” विवरण पनि पुष्टि हुन सकेको छैन।

जेनजी आन्दोलनका क्रममा तेन्जिङसहित २० जना युवाले अत्यधिक आवाज आउने गरी चलाएका बुलेट मोटरसाइकल प्रहरी नियन्त्रणमा छन्। ती मोटरसाइकलमा ‘टिओबी’ लेखिएका स्टिकर भेटिएका छन्।

टिओबी समूह सन् २०२४ जुन १० मा गठन भएको र संस्थापक अध्यक्ष नै तेन्जिङ लामा रहेको प्रहरीले जनाएको छ। सन् २०१७ देखि बौद्धको फूलबारी कम्प्लेक्समा टिओबी नाममा ट्याटु हाउस सञ्चालित रहेको र त्यहीँबाट बुलेट बाइक राइडर्स समूह तयार पारिएको खुल्न आएको छ।

समूहमा ५७ जना आवद्ध भए पनि आधा मात्रै वास्तविक रूपमा सक्रिय रहेको, कतिपय मात्र बाइक राइडर समूहको रूपमा नयाँ स्थान घुम्नका लागि जोडिएका मात्र रहेको प्रहरीले बताएको छ। भदौ २३ को आन्दोलनमा टिओबीका ३१ जना सदस्य र २० वटा मोटरसाइकल परिचालन भएको प्रमाणित भएको छ।

सामाजिक सञ्जालमा देखिएको टिओबी लेखिएको ज्याकेट लगाएका युवाले पेस्तोल बोकिरहेको भिडियो भने केही समयअघि खिचिएको भएको पत्ता लागेको र सो पेस्तोलसमेत नक्कली भएको प्रहरीले स्पष्ट पारेको छ।

Top Post Ad

post bottom ads

Ads Bottom