मङ्सिर २९ गते । रूपन्देहीमा सोमबार बिहान भएका दुई फरक–फरक घटनामा दुई जनाको मृत्यु भएको छ भने एक महिलाको शव फेला परेको छ ।
रूपन्देहीको भैरहवा–परासी सडक खण्डअन्तर्गत रोहिणी गाउँपालिका–३, परासीझुवामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुई युवाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीका अनुसार परासीबाट भैरहवातर्फ आउँदै गरेको ग ११ प ८६२५ नम्बरको मोटरसाइकल बिहान करिब ६ बजे भारतीय नम्बर प्लेट एचआर ५५ डब्लु ०३१ नम्बरको ट्रकमा ठोक्किएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका ओमसतिया गाउँपालिका–३ का २१ वर्षीय राजु हरिजन र सोही ठाउँका २३ वर्षीय रोहित यादवलाई तत्काल भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज लगिएको भए पनि उपचारका क्रममा दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि प्रहरीले ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ ।
यसैबीच, रूपन्देहीकै सिद्धार्थनगर नगरपालिका–३, दरखस्वा क्षेत्रमा एक महिलाको शव पानीमा अर्धडुबेको अवस्थामा फेला परेको छ । सोमबार बिहान करिब सवा ८ बजे स्थानीयवासीले नारायण सिंह थापाको खाली जग्गामा जमेको पानीमा करिब ६५ वर्षीया महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
प्रहरीका अनुसार मृतक महिलाको नाम, थर र ठेगाना हालसम्म खुल्न सकेको छैन । घटनाको प्रकृति, मृत्युको कारण तथा मृतकको पहिचान खुलाउन जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट विशेषज्ञ टोली खटिएर थप अनुसन्धान भइरहेको जनाइएको छ ।






