उमेर नाघेकी शिक्षिकालाई अवैध नियुक्ति र काज सरुवामा अनियमितता गरेको आरोप
काठमाडौँ । काठमाडौँको गोंगबुस्थित मनोहर माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक (प्राचार्य) वासुदेव अधिकारी र शिक्षिका कल्पना पनेरुविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार विद्यालयको दरबन्दीमा शिक्षक नियुक्ति गर्दा प्रचलित कानुनविपरीत ४० वर्ष उमेर नाघिसकेकी कल्पना पनेरुलाई नियुक्ति गरिएको पाइएको छ। उक्त कार्यमा तत्कालीन प्रधानाध्यापक अधिकारीको प्रत्यक्ष संलग्नता देखिएको आयोगको निष्कर्ष छ।
काज सरुवा नै अनियमित
अख्तियारका अनुसार पनेरुले मिति २०६० मङ्सिर ११ गतेदेखि प्राथमिक विद्यालय शिक्षकको अस्थायी पदमा नियुक्ति लिएकी थिइन्। त्यसपछि जिल्ला शिक्षा कार्यालय, काठमाडौँको २०६९ मङ्सिर १ गतेको पत्रअनुसार उनलाई श्री रत्नराज्य माध्यमिक विद्यालय, रामकोटबाट मनोहर माध्यमिक विद्यालय, गोंगबुमा काज सरुवा गरिएको देखिएको छ।
तर, आयोगका अनुसार अस्थायी शिक्षकलाई यसरी काज सरुवा गर्ने अभ्यास नै नियमित प्रक्रिया होइन। यस्तो काज सरुवा हुनका लागि शिक्षिका पनेरु स्वयं र सो निर्णयमा सहमति दिने तत्कालीन प्रधानाध्यापक अधिकारीको भूमिका शंकास्पद देखिएको जनाइएको छ।
निर्णय पुस्तकमै हेरफेर
आयोगको अनुसन्धानमा मिति २०७१ साउन २८ गतेदेखि पनेरुलाई ‘प्लस टु’ को अनुदान दरबन्दीमा नियुक्ति दिने निर्णय गरिएको उल्लेख छ। तर, उक्त निर्णय सक्कल निर्णय पुस्तकको अन्तिम भागमा पछिबाट थप गरिएको, टिपेक्स प्रयोग गरी सच्याइएको, केरमेट तथा हेरफेर गरिएको प्रमाण फेला परेको आयोगले जनाएको छ।
यसरी निर्णय प्रक्रियामै हेरफेर गरी गैरकानुनी रूपमा नियुक्ति दिलाउनु सार्वजनिक पदको दुरुपयोग भएको आयोगको ठहर छ।
विशेष अदालतमा आरोपपत्र दायर
उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को
- दफा ९ (गलत तरिकाले लाभ पुर्याएको) र
- दफा ११ (सरकारी कागजातमा हेरफेर गरेको)
बमोजिमको कसुरमा सजायको मागदाबी लिई आइतबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको अख्तियारले जनाएको छ।
अदालतबाट दोषी ठहरिएमा उनीहरूलाई ऐनबमोजिम कैद, जरिवाना तथा दुवै सजाय हुन सक्ने कानुनी व्यवस्था छ।






