Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !


 

गलत डायलबाट सुरु भएको फोन सम्बन्ध अन्ततः जबरजस्ती करणी र मानव बेचबिखन प्रयासमा परिणत

नाबालिका किशोरी भारत लैजान खोज्दा गड्डाचौकीबाट उद्धार, आरोपी पक्राउ


पुस १३ गते । सामान्य रूपमा गरिएको एउटा गलत फोन डायलबाट सुरु भएको संवाद अन्ततः गम्भीर आपराधिक घटनामा परिणत भएको छ। बाजुराका ३२ वर्षीय केशव बोहोरा नाबालिका किशोरीलाई प्रलोभनमा पार्दै जबरजस्ती करणी तथा भारततर्फ लैजान खोजेको आरोपमा पक्राउ परेका छन्।

घटना गत भदौ १३ गते दिउँसोको हो। १५ वर्षीया एक किशोरीले विवाहित दिदीलाई फोन गर्न मोबाइलमा नम्बर डायल गर्दा अन्तिम अंक गलत परेपछि फोन एक पुरुषको नम्बरमा पुग्यो। फोन उठेपछि किशोरीले तुरुन्तै फोन काटिन्। उक्त फोन उठाउने व्यक्ति बाजुराका केशव बोहोरा रहेको खुलेको छ।

त्यसपछि बोहोराले किशोरीलाई निरन्तर फोन गर्न थाले। समयसँगै उनीहरूबीच नियमित फोन संवाद हुन थाल्यो। दुःख–सुखका कुरा साटासाट हुने क्रममा किशोरीले आमाको निधनपछि सौतेनी आमाले पालनपोषण गरिरहेको, घरायसी तनाव र मानसिक पीडाबारे पनि बोहोरालाई सुनाउने गरेकी थिइन्।

माइती नेपाल आवधिक गृह कञ्चनपुरकी संयोजक महेश्वरी भट्टका अनुसार यही भावनात्मक अवस्थाको फाइदा उठाउँदै बोहोराले केही दिनपछि किशोरीलाई प्रत्यक्ष भेट्न आग्रह गरे। भेट्न आउन सहज होस् भनेर उनले किशोरीको ई–सेवा खातामा गाडी भाडाका लागि रकमसमेत पठाएका थिए।

सुरुमा बाजुराको मार्तडीमा भेट्ने भनिए पनि किशोरी घरबाट हिँडेपछि बोहोराले आफू मार्तडीमा नभई कैलालीको अत्तरियामा रहेको भन्दै त्यतै आउन निर्देशन दिए। त्यसअनुसार किशोरी भदौ २१ गते बस चढेर अत्तरियामा पुगेकी थिइन्।

अत्तरिया पुगेपछि उनीहरू स्थानीय एक होटेलमा बसेर खानपिन गरेका थिए। सोही होटेलमा बोहोराले किशोरीसँग जबरजस्ती शारीरिक सम्पर्क गरेको माइती नेपालले जनाएको छ। त्यसपछि बोहोराले किशोरीलाई घर फर्कन नदिई भारत लैजान प्रयास गरेको खुलेको छ।

किशोरी घर फर्किन चाहँदा बोहोराले विभिन्न प्रलोभन र धम्की दिएर भारत जान बाध्य बनाउन खोजेको बताइएको छ। तर भारत–नेपाल सीमा नजिक गड्डाचौकीमा माइती नेपालले सञ्चालन गरेको सूचना तथा परामर्श केन्द्रका कर्मचारीलाई अवस्था शङ्कास्पद लागेपछि सोधपुछ गरिएको थियो।

सोधपुछकै क्रममा घटनाको वास्तविकता खुलेपछि केशव बोहोरा किशोरीसहित पक्राउ परेका हुन्। बोहोराविरुद्ध जबरजस्ती करणी तथा मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी मुद्दा दर्ता गरिएको माइती नेपाल कञ्चनपुरकी संयोजक भट्टले जानकारी दिनुभयो।

हाल ती किशोरीलाई सुरक्षित रूपमा उद्धार गरी परिवारको जिम्मा लगाइएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



Top Post Ad

post bottom ads

Ads Bottom