काठमाडौं । अवैध रूपमा हतियार लुकाइछिपाइ राखिएको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले नागार्जुन नगरपालिका–४, बाफल क्षेत्रबाट तीन जनालाई हतियारसहित नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार मिति २०८२।०९।१० गते विशेष सूचनाका आधारमा गरिएको अपरेशनका क्रममा बाफलस्थित एक स्थानमा लुकाइ राखिएको अवस्थामा उनीहरू फेला परेका हुन्। पक्राउ परेका व्यक्तिहरूमा काठमाडौं महानगरपालिका–१५, डल्लु बस्ने ३२ वर्षीय ‘झिल्के’ भनिने विकास शाही, मोरङ जिल्लाको लेटाङ नगरपालिका–४ घर भई काठमाडौंमा बसोबास गर्दै आएका २२ वर्षीय साहिल तिवारी तथा काठमाडौं महानगरपालिका–१३, बाफल बस्ने ३३ वर्षीय ‘जस्वन राई’ भनिने अश्विन राई रहेका छन्।
प्रहरीले उनीहरूको साथबाट दुई थान CF–98 पेस्तोल (नम्बर CF 98-900003308237 र CF 98-900011108236), सोही पेस्तोलका तीन थान म्यागजिन, दुई थान गोली र दुई थान गोलीका खोका बरामद गरेको जनाएको छ। बरामद हतियार तथा गोलीगठ्ठा अवैध भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको र हतियार कहाँबाट ल्याइयो, कुन उद्देश्यका लागि लुकाइ राखिएको थियो भन्ने विषयमा सोधपुछ भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। पक्राउ परेकाहरूमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने पनि प्रहरीले जनाएको छ।






