झापा, चैत ७ – झापाको एक सहकारी संस्थाका कर्मचारी करिब साढे ३ करोड रुपियाँ हिनामिनाको आरोपमा पक्राउ परेका छन्। "हाम्रो नेपाल सहकारी संस्था लिमिटेड" अन्तर्गत शिवगञ्ज सेवाकेन्द्रका प्रमुख जीवन भुजेललाई संस्थाकै उजुरीका आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काका अनुसार भुजेललाई केही दिनअघि पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाइएको छ। सहकारीले दिएको उजुरीमा भुजेलमाथि ३ करोड ३५ हजार ४ सय रुपियाँ हिनामिना गरेको आरोप लागेको छ।
२८ वर्षीय भुजेलले सहकारीको सम्पत्ति, बचत र ऋण रकममा हेराफेरी गरेको आरोपसमेत सहकारीका एक सञ्चालकले लगाएका छन्। बारम्बार सम्झाउने प्रयास गरिए पनि अटेर गरेपछि उजुरी दर्ता गर्न बाध्य भएको ती सञ्चालकले बताएका छन्।
उक्त सहकारीको मुख्य कार्यालय बिर्तामोडमा रहेको छ। उजुरीपछि प्रहरीले भुजेललाई चैत ३ गते नै पक्राउ गरेको हो।





