काठमाडौं, चैत ६ — सेयर बजारमा मूल्य निर्धारणको पारदर्शिता र विश्वसनीयता बढाउन नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले नयाँ प्रणाली लागू गर्ने भएको छ। भोलि बिहीबारदेखि लागु हुने यो व्यवस्थाअनुसार कारोबार समयको अन्तिम १५ मिनेट — अर्थात् दिउँसो पौने ३ बजेदेखि ३ बजेसम्म — को भारित औसत मूल्य नै सो दिनको अन्तिम मूल्यका रूपमा लिइनेछ।
नेप्सेका अनुसार उक्त अवधिमा कुनै कारोबार नभएमा भने पुरानै नियम अनुसार पछिल्लो कारोबार मूल्य नै अन्तिम मूल्य मानिनेछ।
हालसम्म अन्तिम पटक भएको कारोबार मूल्य नै सेयरको अन्तिम मूल्य निर्धारणमा प्रयोग हुँदै आएको थियो। तर, कारोबारको अन्तिम क्षणमा केही व्यक्तिहरूले मूल्य बढाउने वा घटाउने प्रयास गर्दै बजारमा कृत्रिम उतारचढाव ल्याउने गरेको गुनासोहरू बढेपछि नेप्सेले सुधारको कदमस्वरूप नयाँ विधि ल्याएको हो।
"नयाँ प्रणाली लागू गर्न आवश्यक सम्पूर्ण प्राविधिक तयारी सकिएको छ," नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले जानकारी दिनुभयो। यो व्यवस्था लागू भएसँगै सेयर मूल्यमा देखिने अनावश्यक चलखेल रोक्ने अपेक्षा गरिएको छ।





