धनकुटा, चैत ६ — धनकुटाको चौबिसे गाउँपालिका–१ स्थित बुधबारे मुक्तरास्थित भीमबहादुर सुर्जे मगरको घरमा आगलागी हुँदा ठूलो क्षति भएको छ।
मंगलबार साँझ करिब ६ बजे खाना पकाउने क्रममा भान्साबाट सल्किएको आगोले घरसहित भान्साघर जलेर पूर्ण रूपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। आगलागीमा परी नगद १० हजारसहित करिब पाँच लाख रुपैयाँ बराबरको धनमाल जलेको छ।
वडा अध्यक्ष देवेन्द्र श्रेष्ठका अनुसार अहिले पीडित परिवारको बसोबास र खानपानको व्यवस्था नहुँदा उनीहरू छिमेकी राम मगरको घरमा आश्रय लिन बाध्य भएका छन्।
स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको भए पनि सम्पत्ति जोगाउन सकिएको थिएन। आगलागीको कारण थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





