मकवानपुर, वैशाख ३। मकवानपुरगढी गाउँपालिका–२, धरमपानीस्थित कान्तिलोकपथ सडकखण्डमा गएराति भएको विद्युतीय माइक्रोबस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्।
काठमाडौँबाट हेटौंडातर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ७०७२ नम्बरको माइक्रोबस राति करिब १ बजे सडकबाट झन्डै २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। गाडीमा चालकसहित १६ जना सवार थिए।
दुर्घटनामा गम्भीर घाइते भएकी ५० वर्षीया निलम देवी राउतको उपचारका क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। यस्तै, १३ वर्षीया मानुसी मगरको शव बिहान दुर्घटनास्थल नजिकैको खोल्सामा फेला परेको हो।
प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालका अनुसार गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ। घाइतेहरूको हेटौंडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





