नेपालगन्ज, चैत २८ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँकेको यातायात व्यवस्था कार्यालय, नेपालगन्जमा कार्यरत कम्प्युटर अपरेटरसहित चार जनालाई पक्राउ गरेको छ। आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलका अनुसार कम्प्युटर अपरेटर शक्ति ठाकुरसहित चार जनालाई बुधबार नियन्त्रणमा लिइएको हो।
पक्राउ पर्नेमा ठाकुरका साथै सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय, नेपालगन्जका नायब सुब्बा मुकुन्दराज केसी र मामा भान्जा मोटर ड्राइभिङ सेन्टर, नेपालगन्जका प्रोप्राइटर शरद कुमार गोराथोकी रहेका छन्।
उनीहरूले नक्कली सवारी चालक अनुमति पत्र वितरण गरी मासिक तीन करोड रुपैयाँभन्दा बढी रकम संकलन गर्ने गरेको उजुरीका आधारमा आयोगको केन्द्रीय कार्यालय, बुटवल कार्यालय र नेपालगन्ज सम्पर्क कार्यालयबाट संयुक्त रूपमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ परेकासँगै प्रयोगमा ल्याइएका विद्युतीय उपकरणहरू पनि बरामद गरिएको छ। अख्तियारका अनुसार बाँके जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरी अहिले थप अनुसन्धान भइरहेको छ।





