काठमाडौं, वैशाख ३१ — काठमाडौं महानगरपालिका–२४ स्थित मखनटोलमा ग्यास चुहावटका कारण लागेको आगलागीमा एक महिलाको ज्यान गएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता अपिलराज बोहराका अनुसार, दयाराम श्रेष्ठको चारतले घरमा ग्यास लिक भएर एक्कासि आगो लाग्दा एक महिलाको मृत्यु भएको हो। “घटनास्थलमा मृतकको शव फेला परेको छ तर सनाखत हुन बाँकी छ,” प्रवक्ता बोहराले जानकारी दिनुभयो।
आगलागी यति तीव्र थियो कि नजिकै रहेको रुकेश श्रेष्ठको पाँचतले घरमा समेत आगो सल्किएको प्रहरीले जनाएको छ। क्षतिको विवरण संकलन कार्य जारी छ भने आगो निभाउने प्रयास निरन्तर भइरहेको छ।
स्थानीयबासी र सुरक्षाकर्मी मिलेर आगो नियन्त्रणमा ल्याउने प्रयासमा जुटिरहेका छन्। प्रारम्भिक अनुमानमा ग्यासको लिकेजबाट विस्फोटजस्तो स्थिति सिर्जना भई आगो फैलिएको बताइएको छ।





