नीरजकुमार सिंहको विवाहमा गीत गाउँदै रमाइरहेका स्थानीय ७३ वर्षीया सूर्यदेवी गनगाई र ७० वर्षीया रामुदेवी गनगाईको करेन्ट लागेर घटनास्थलमै मृत्यु भयो। दुवैजना क्रमशः सतारुलाल र जतरुलाल गनगाईकी श्रीमती हुन्।
वडाध्यक्ष देवीलाल ताजपुरियाका अनुसार, हरियो बाँस प्रयोग गरेर टेण्ड (छाना) बाँधिएको थियो, जुन तेज हावा हुरीका कारण ढलेर ११ हजार भोल्टको हाई टेन्सन लाइनमा छोएको थियो। यही विद्युतीय झट्काले सूर्यदेवी र रामुदेवीको ज्यान लिएको हो।
सोही घटनामा ३० वर्षीया राधाकुमारी सिंह घाइते भएकी छन्। उनलाई झुर्किया नगर अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ।
मृतकको शव पोस्टमार्टमका लागि रंगेली अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय सिँजुवाले जनाएको छ। बुधवार नै शव आफन्तलाई बुझाइनेछ।
मिर्चाडाँगी, मोरङको दक्षिणपूर्वी भागमा पर्छ, जहाँ करिब २५० परिवार बसोबास गर्छन्। रतुवाखोलापारिको यो बस्तीमा बाढीका बेला भारतको भूमिबाट मात्रै आवत–जावत गर्न सकिने अवस्था रहेको छ।