कपिलवस्तु, जेठ २ – कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१ वसन्तपुरमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट ज्यान गएको छ।
शुक्रबार बिहान करिब ५:४५ बजे गोरुसिङ्गे–अर्घाखाँची सडकखण्डमा गोरुसिङ्गेतर्फ जाँदै गरेको बीएडी ९५९९ नम्बरको कारले ठक्कर दिँदा ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझी गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक विराट शर्मा पौडेलले जानकारी दिनुभयो।
दुबैलाई उपचारका लागि कपिलवस्तु अस्पताल, तौलिहवा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो।
रुपन्देहीको सैनामैना नगरपालिका–५ निवासी ३२ वर्षीय कार चालक खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





