कञ्चनपुर, वैशाख २१ – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ मा आइतबार बिहान चट्याङ लागेर एक गर्भवती महिलाको ज्यान गएको छ। स्थानीय २४ वर्षीया लालमती रानाको बारीमा तरबुज टिप्ने क्रममा चट्याङ लागेर घटनास्थलमै मृत्यु भएको हो।
वडा अध्यक्ष नवलसिंह रानाका अनुसार लालमती र उनका श्रीमान् २५ वर्षीय रतनसिंह राना बारीमा तरबुज संकलन गरिरहेका बेला अचानक परेको चट्याङले दुबैलाई चपेटामा पारेको थियो। घटनामा श्रीमान् रतनसिंह घाइते भएका छन् र उनलाई उपचारका लागि धनगढी पठाइएको जनाइएको छ।
वडा अध्यक्ष रानाले घटनाको बेला हावाहुरीसहित पानी र चट्याङ परेको जानकारी दिँदै घटनास्थलमा प्रहरी टोली पुगिसकेको पुष्टि गर्नुभयो।
प्राकृतिक प्रकोपबाट भएको यो दुःखद घटनाप्रति स्थानियस्तरमा शोक व्यक्त गरिएको छ।
वर्षायाम नजिकिँदै गर्दा चट्याङलगायत प्रकोपबाट जोगिन सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।





