चन्द्रपुर (रौतहट), वैशाख २१ – रौतहटको चन्द्रपुर नगरपालिका–४ स्थित पश्चिम लच्का नजिक आइतबार बिहान भएको सवारी दुर्घटनामा एकै परिवारका बुबा–छोरीको मृत्यु भएको छ। पूर्व–पश्चिम लोकमार्गमा हेटौँडाबाट चन्द्रनिगाहपुरतर्फ जाँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ गइरहेको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा उक्त दुःखद घटना भएको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका अनुसार मोटरसाइकलमा सवार रौतहट, गरुडा नगरपालिका–३ मलाही टोलका ६० वर्षीय बलिराम सहनी र उनकी ४० वर्षीया छोरी उर्मिला देवी सहनीको ज्यान गएको हो। बलिरामको चन्द्रनिगाहपुरस्थित हाईवे ट्रमा सेन्टर र उर्मिलाको परवानीपुरस्थित एल.एस. न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।
दुर्घटनामा संलग्न कार र चालक मकवानपुर, हेटौँडा उपमहानगरपालिका–१२ का कुमार पोखरेललाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिएको छ।
प्रहरी नायब उपरीक्षक राजकुमार राइका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।





