प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार बयलकोटीले विगत आठ वर्षदेखि विभिन्न सरकारी तथा गैरसरकारी कार्यालय, शैक्षिक संस्था, स्थानीय तह र बैंकका नाममा नक्कली सिफारिस पत्र, प्रमाणपत्र, जग्गाधनी पुर्जा, बैंक स्टेटमेन्ट, चालक अनुमति पत्रजस्ता कागजातहरू किर्ते गरी बनाउँदै आएकी थिइन्। उनले दुई जनालाई मासिक १० देखि १५ हजार रुपैयाँ तलबमा राखेर सो कार्य सञ्चालन गर्दै आएकी थिइन्।
उनीहरूले डिपेन्डेन्ट र भिजिट भिसा, विवाह दर्ता प्रमाणपत्र, शैक्षिक प्रमाणपत्र, विदेशी रोजगार वा अध्ययनका लागि आवश्यक पर्ने नक्कली बैंक स्टेटमेन्ट र मेडिकल रिपोर्ट समेत बनाउने गरेको खुलेको छ। विदेशमा बसोबास अनुमति (पिआर/ग्रीन कार्ड) लिने प्रयोजनका लागि मनमोहन मेमोरियल अस्पताल, वीर अस्पताल र सल्यान अस्पतालका नक्कली मेडिकल कागजातहरूसमेत तयार पार्ने गरेका थिए।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले ४२ थान माइग्रेसन सर्टिफिकेट, ६० थान क्यारेक्टर सर्टिफिकेट, ११० थान शैक्षिक ट्रान्सक्रिप्ट, ५० थान प्रोभिजनल सर्टिफिकेट, पाँच थान विवाह प्रमाणपत्र, १० थान जग्गाधनी दर्ता प्रमाण, विभिन्न सहकारी तथा बैंकका लेटरहेड र स्टेटमेन्ट पानाहरू, र स्थानीय तहका सिफारिस कागजातहरू बरामद गरेको छ।
उनीहरूलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकालीमा बुझाइएको प्रहरीले जनाएको छ।