काठमाडौं, जेठ १ – सरकारले नेपाली सेनातर्फ नौ जना सहायक रथी र तीन जना महासेनानीको सरुवा गरेको छ। साथै, छ जना प्रमुख सेनानीलाई महासेनानी पदमा र एक जना महासेनानीलाई सहायक रथी पदमा बढुवा गर्ने निर्णय पनि गरिएको छ।
वैशाख २५ र ३१ गते बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू बिहीबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्य विविध निर्णयहरूको जानकारी दिनुभयो।
त्यसअनुसार, वैशाख ३० देखि जेठ १ गतेसम्म युएईको दुबईमा हुने विश्व प्रहरी सम्मेलनमा प्रहरी अतिरिक्त महानिरीक्षक सुदीप गिरीलाई सहभागी गराउने निर्णय गरिएको छ।
कञ्चनपुर जिल्लामा महाकाली नदीबाट हुने संभावित बाढी जोखिमलाई ध्यानमा राख्दै, भीमदत्त नगरपालिका–११, १२, १३ र दोधारा चाँदनी नगरपालिका–३, ८, ९, १० वडालाई तीन महिनाको लागि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएको छ।
त्यस्तै, जेठ १४–१६ सम्म कोरियाको सुवनमा हुने एशिया–प्रशान्त फोरममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई सहभागी गराउने निर्णय भएको छ।
भूकम्प तथा अन्य प्रकोपबाट क्षतिग्रस्त शैक्षिक संरचना पुनर्निर्माण गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (PIU) को कार्यक्षेत्र विस्तार गर्ने निर्णय गरिएको छ।
यसैगरी, स्मार्ट शहरसम्बन्धी जापानमा आयोजना हुने अन्तर्राष्ट्रिय कार्यशाला (वैशाख ३०–जेठ १) मा काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहलाई, तथा चीनमा जेठ १२ सम्म चल्ने बीआरआई अन्तर्गत जातीय नीति र अभ्याससम्बन्धी सेमिनारमा आदिवासी जनजाति आयोगका सदस्य डा. मिनबहादुर श्रीसलाई सहभागिताको स्वीकृति दिइएको छ।
लमजुङको दोर्दी गाउँपालिकालाई चीनको युनान प्रान्तको फुगोङ काउन्टीसँग भगिनी सम्बन्ध स्थापना गर्न पूर्वस्वीकृति प्रदान गरिएको छ। साथै, लुम्बिनी प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारी, उद्योग मन्त्रालयका सचिव कृष्णबहादुर राउत, विज्ञान तथा प्रविधि सचिव विश्ववावु पुडासैनी, र डा. दीपक काफ्लेको वैदेशिक भ्रमणहरू पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ।