ब्राइटर खबर, काभ्रे — रोशी खोलामा आएको बाढीले बगाएको अस्थायी डाइभर्सनका कारण अवरुद्ध बनेको बिपी राजमार्ग १६ घण्टापछि पुनः सञ्चालनमा आएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१२ स्थित माम्तीमा डाइभर्सन बगाउँदा सोमबार रातिदेखि राजमार्ग अवरुद्ध भएको थियो।
प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार आज (मंगलबार) दिउँसोदेखि सडक सुचारु भएसँगै दुईतर्फी यातायात सञ्चालनमा आएको छ।
सडक डिभिजन कार्यालय भक्तपुरको नेतृत्वमा प्रहरी र स्थानीयको सहकार्यमा अस्थायी रूपमा बाटो मर्मत गरी सडक सञ्चालनमा ल्याइएको सडक डिभिजन कार्यालय भक्तपुरका कर्मचारी चन्द्रबहादुर लामाले जानकारी दिए।
गत वर्ष असोज १० देखि १२ गतेसम्म पनि रोशी खोलामा आएको बाढीले बिपी राजमार्गको विभिन्न खण्डमा क्षति पुर्याएको थियो। त्यसपछिको अवस्थालाई मध्यनजर गर्दै सडक डिभिजन कार्यालयले खोलाको किनारै किनार अस्थायी डाइभर्सन निर्माण गरी यातायात सञ्चालन गर्दै आएको हो।
स्थानीय तह तथा सरोकारवाला निकायले बाढीजन्य जोखिम न्युनिकरण तथा दीर्घकालीन समाधानका लागि दिगो पूर्वाधार विकासमा ध्यान दिनुपर्ने आवश्यकता देखिएको छ।





