Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

स्याङ्जा आँधीखोलाको जनहित माविमा श्रम शिक्षाको उत्कृष्ट उदाहरण : विद्यार्थीलाई पञ्चे बाजादेखि कृषि सीप प्रदान

डिआर काफ्ले,
स्याङ्जा – शिक्षा भनेको केवल किताबी ज्ञानमा सीमित हुनु हुँदैन, व्यवहारिक सीपसँग जोडिनु जरुरी छ भन्ने उदाहरण प्रस्तुत गर्दै स्याङ्जा जिल्लाको आँधिखोला वडा नम्बर १ मा रहेको  जनहित माध्यमिक विद्यालयले, नवीन अभ्यासको थालनी गरेको छ। विद्यालयले विद्यार्थीलाई श्रम शिक्षामार्फत व्यवहारिक सीप सिकाउनका लागि पञ्चे बाजा वितरण गर्नुका साथै आधुनिक कृषि अभ्यासमा उन्मुख गराउने योजना अन्तर्गत अकबरे खुर्सानी तथा तरकारी खेतीको कार्य आरम्भ गरेको छ।


पालिका अध्यक्ष विश्व पौडेल सँगै वडा अध्यक्ष पवन काजि अधिकारीको सहयोग र  विद्यालयका प्रधानाध्यापक श्री नवराज चापागाईँको अगुवाइमा सुरु गरिएको यो कार्यक्रमले शिक्षा र सीपको संयोजन गर्दै विद्यार्थीलाई आत्मनिर्भर बनाउने दिशामा सार्थक पहल गरेको छ।


नेपालको मौलिक संस्कृति र परम्परालाई समेट्ने पञ्चे बाजाको प्रशिक्षण विद्यालय स्तरमै सुरु गर्नु भनेको केवल सीप प्रदान गर्नु मात्र होइन, सांस्कृतिक जगेर्नाको पनि उदाहरण हो। विद्यालयले आफ्नै स्रोत साधनमा आधारित रही विद्यार्थीहरूलाई पञ्चे बाजा बजाउने सीप सिकाउन आवश्यक सामग्री उपलब्ध गराएको छ। यसले विद्यार्थीहरूलाई पारम्परिक कला, संस्कृति र परम्परामा गर्व गर्न सिकाउनुका साथै व्यावसायिक अवसरका ढोका समेत खोल्नेछ।


श्रम शिक्षाको अर्को पाटो स्वरूप विद्यालयले आफ्नै परिसरमा अकबरे खुर्सानी र विभिन्न तरकारी खेती थालेको छ। विद्यार्थीहरू प्रत्यक्ष रूपमा माटो छुन, बिरुवा रोप्न, मल हाल्न, पानी हाल्न र उत्पादनलाई बजारसम्म पुर्‍याउने प्रक्रिया सिक्दै छन्। यसले उनीहरूमा कृषि प्रतिको बुझाइ मात्र बढाउँदैन, भविष्यमा आत्मनिर्भर बन्ने बाटो पनि खोल्छ।


अकबरे खुर्सानीजस्तो व्यावसायिक महत्त्व बोकेको बालीमा विद्यालयको पहलले समुदायलाई समेत प्रेरणा दिएको छ।


शिक्षालाई व्यवहारसँग जोड्ने यो अभियानको केन्द्रमा विद्यालयका प्रधानाध्यापक श्री नवराज चापागाईँ हुनुहुन्छ। उहाँको नेतृत्व, दूर दृष्टि र समर्पणले जनहित माविमा शिक्षाको नयाँ परिभाषा स्थापित गर्न सफल भएको छ। विद्यार्थीहरूको भविष्यलाई उज्यालो बनाउने, उनीहरूलाई आत्मनिर्भर बनाउने र स्थानीय सीप तथा पेसालाई संरक्षण गर्दै नयाँ पुस्तालाई हस्तान्तरण गर्ने उहाँको प्रयास प्रशंसनीय छ।


आजको समय व्यवहारिक शिक्षाको हो। श्रम शिक्षालाई पाठ्यक्रमसँगै व्यवहारमा लागू नगरी गुणस्तरीय शिक्षा सम्भव छैन। जनहित माविको यो पहल सम्पूर्ण शैक्षिक संस्थाहरूका लागि अनुकरणीय छ। परम्परागत सीप, आधुनिक कृषि, र श्रम शिक्षाको समायोजनले नै शिक्षा प्रणालीलाई जीवन उपयोगी बनाउने हो।

Top Post Ad

post bottom ads

Ads Bottom