कोशी, मधेश, र बागमती प्रदेशसँगै अन्य पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली छ भने बाँकी क्षेत्रहरूमा मौसम प्रायः सफा रहेको छ। कोशी र मधेश प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको जानकारी प्राप्त भएको छ।
शनिबार दिउँसो पनि कोशी प्रदेश र अन्य पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम सफादेखि आंशिक बदली हुने सम्भावना छ। साथै, कोशी, बागमती, र गण्डकी प्रदेशका उच्च–पहाडी र हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।
आज राति मौसममा उल्लेख्य परिवर्तन हुने छैन। कोशी प्रदेशलगायत पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्यत्र प्रायः सफा रहनेछ। यद्यपि, कोशी, बागमती र गण्डकी प्रदेशका केही उच्च पहाडी र हिमाली स्थानहरूमा वर्षा वा हिमपात हुने सम्भावना कायमै रहेको छ।
मौसम विभागले उच्च–पहाडी र हिमाली क्षेत्रहरूमा हुन सक्ने हल्का वर्षा र हिमपातले जनजीवन, कृषि, स्वास्थ्य, यातायात (सडक र हवाई दुवै) मा असर पार्न सक्ने भएकाले पूर्वतयारी र आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।