निर्माणको अन्तिम चरणमा पुगेको उक्त पुल आइतबार बिहान भाँचिएको हो । यस अगाडि उक्त पुल गत बैशाख २५ गते भाँचिएको थियो । वैशाख महिनामा पुलको केही भाग मात्र भाँचिएको भए पनि अहिले भने पुलको चार वटा स्पान मध्ये बिचको स्पान पुरै भुईँमा खसेको छ । सडक विभागले २२ करोड ५५ लाखको लागतमा निर्माण गरिरहेको उक्त पुलको अन्तिम स्पान भाँचिएको छ । कालिका – कल्पवृक्ष जेभि निर्माण कम्पनीले निर्माण कार्य गरिरहेको उक्त पुल २ सय ३० मिटर लामो रहेको छ । गत वैशाख महिनामा भाँचिएको स्पानको मर्मतको काम भइरहेको बेला सोही स्पान फेरी पूर्ण रूपमा भाँचिएको हो ।
०७८ सालबाट निर्माण सुरु गरिएको उक्त पुल यही असार मसान्त सम्ममा सक्ने गरी निर्माण भइरहेको थियो । ४ वटा स्पान भएको सो पुलको चौथो स्पान भाँचिएको हो । पुल भाँचिनुको कारण थाहा भएको छैन । निर्माण कम्पनीले पुल भाँचिनुको कारणका बारेमा प्राविधिक टोली ल्याएर परीक्षण गर्ने बताएको छ । उक्त पुल निर्माण पछि रामेछापको मन्थलीबाट काठमाण्डौं र तराई जानका लागि छोटो दुरी पर्दछ ।