काठमाडौँबाट नेपालगञ्जका लागि मालसामान लिएर गएका ट्रक चालक राजेश विकले छ दिनदेखि बाटोमै अलपत्र परेको गुनासो पोख्नुभयो। ‘‘जंगलको बीचमा तीन दिनसम्म गाडीमै सुत्दा चर्को गर्मीले निदाउन सकिएन, खानपिनको पनि निकै समस्या भयो,’’ विकले बताउनुभयो, ‘‘अहिले बजार क्षेत्रमा आएपछि खानपिन सहज भए पनि कहिले गन्तव्य पुगिन्छ भन्ने अन्योल छ।’’
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनक बन्जराका अनुसार पाँचदेखि छ दिनसम्म गाडी ‘होल्ड’ गरेर राखिएको छ। केही सवारी साधन फर्किएका छन् भने बाँकीलाई जंगलबाट बजार क्षेत्रमा सारिएको छ ताकि चालक र यात्रुलाई खान र बासको सुविधा मिलोस्।
पूर्वतर्फ जाने सवारी साधन विनयी खोलामा रोकिएका छन् भने पश्चिमतर्फ जाने गाडी दाउन्नेमा रोकिएका छन्। आठ पटकसम्म डाइभर्सन बगाएपछि अब विनयी खोलामा नयाँ डाइभर्सन नबनाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले बताउनुभयो।
त्यस्तै, दाउन्नेको पहिरो प्रभावित सडक खण्डमा पनि मर्मतकार्य सम्पन्न नहुँदासम्म सवारी आवागमनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। साना तथा हलुका सवारीसाधनलाई वैकल्पिक रूपमा होङ्सी सिमेन्ट मार्ग हुँदै झन्डै २८ किलोमिटर घुमाइ दिइए पनि साँझ ७ बजेदेखि बिहान ५ बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।
गत पुस २६ गते विनयी खोलाको पुल भाँचिएपछि डाइभर्सनमार्फत यातायात सञ्चालन गरिएको थियो। तर पटक–पटक डाइभर्सन बगाउँदै आएको बाढीले अवरोध सिर्जना गरेपछि अब स्थायी समाधान खोज्ने तयारी गरिएको हो। हालै बिहीबार राति डाइभर्सनबाट गइरहेको यात्रुवाहक बस बाढीले बगाएको घटना समेत भएको थियो।