इटहरी, असार ३ गते । सुनसरीको इटहरी उपमहानगरपालिका–२० तरहरास्थित धरान–तरहरा सडकखण्डबाट प्रहरीले २ हजार १०० किलो गाँजासहित तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार आज बिहान धरानबाट इटहरीतर्फ गइरहेको ना.५ ख ६११६ नम्बरको ट्रकलाई रोकि जाँच गर्दा ४८ बोरा बन्दाकोभी र १२ बोरा आलुको बिचमा लुकाएर राखिएको ७० बोरा गाँजा फेला परेको हो।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले गाँजासहित ट्रक चालक धनकुटा सहिदभूमि गाउँपालिका–६ का ३२ वर्षीय राजेन्द्र राई, ट्रकमा सवार ३३ वर्षीय सुनिल राई र सुनसरी वराहक्षेत्र नगरपालिका–९ का ३४ वर्षीय सुमन राईलाई पक्राउ गरिएको जानकारी दिनुभयो।
पक्राउ परेका तीनै जनामाथि लागुऔषधसम्बन्धी कसुरमा इलाका प्रहरी कार्यालय इटहरीले आवश्यक अनुसन्धान थालेको प्रहरीले जनाएको छ।





