असार ८, बागलुङ । बागलुङको ढोरपाटनमा गत जेठ २ गते भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ। घाइते अवस्थामा पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत ढोरपाटन नगरपालिका–२ की २३ वर्षीया इन्द्रा कुँवरको आइतबार दिउँसो मृत्यु भएपछि मृतक संख्या बढेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी वसन्त पाण्डेले जानकारी दिनुभयो।
यसअघि सोही दुर्घटनामा परी ढोरपाटन–२ का नरबहादुर कार्की, भीमकुमारी बुढा, टीकाकुमारी कुँवर र मनकुमारी थापाको मृत्यु भइसकेको थियो। कार्की र बुढाको बुर्तिवाङ अस्पतालमा, थापाको पोखरास्थित मणिपाल अस्पतालमा तथा कुँवरको पोखरा लैजाँदै गर्दा बाटोमै निधन भएको थियो।
दुर्घटना ढोरपाटन नगरपालिका–५ बतासे डाँडामा भएको हो। बुर्तिवाङ बजारबाट सालझण्डी सडक हुँदै सही खोलातर्फ गइरहेको लु.प्र.०१–००१–१७७५ नम्बरको जिप सडकबाट झन्डै ६० मिटर तल खसेको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
जिपमा १६ जना यात्रु सवार रहेको र क्षमताभन्दा बढी यात्रु बोकेका कारण ब्रेक फेल भई दुर्घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। दुर्घटनामा अन्य घाइतेहरूको पोखरा र बुर्तिवाङमा उपचार भइरहेको बताइएको छ।





