विश्वविद्यालयले कुनै संकायमा आवश्यकता नहुँदा पनि बढुवा खुलाएको र अर्कोतर्फ प्रशस्तै विद्यार्थी र दरबन्दी आवश्यकताका बाबजुद बढुवा आह्वान नगरेको आरोप त्रिविमा क्रियाशील प्राध्यापकहरूबाट उठेको हो।
प्राध्यापकहरूले विश्वविद्यालयका पदाधिकारीहरूले व्यक्तिगत स्वार्थका आधारमा विज्ञापन आह्वान गरेको भन्दै कडा असन्तुष्टि जनाएका छन्। उनीहरूले हालको विज्ञापन तत्काल सच्याएर नयाँ र न्यायसंगत प्रणालीमा आधारित आवेदन आह्वान नगरेमा आन्दोलनको चेतावनी दिएका छन्।
छ वटा प्राध्यापक संगठनहरूले संयुक्त रुपमा वक्तव्य जारी गर्दै हालको विज्ञापन शैक्षिक वृत्तमै असन्तुलन ल्याउने खालको भएको आरोप लगाएका छन्। उनीहरूको भनाइमा, “हाल आह्वान गरिएको विज्ञापन अनुसार नै अन्तिम सिफारिस भएमा शैक्षिक क्षेत्रको गुणस्तर र स्थायित्वमा गम्भीर असर पर्न सक्छ।”
वक्तव्यमा भनिएको छ, “दरबन्दीको पिरामिड संरचनालाई बेवास्ता गरिएको छ। कुनै विषयमा बढुवाका लागि दरबन्दी सिफारिस गरिएको छैन भने केही विषयमा अत्यन्तै न्यून संख्या सिफारिस गरिएको छ।”
सामान्यतः त्रिविमा छ जना उप–प्राध्यापक भएको बिषयमा दुई जना सह–प्राध्यापक र एक जना प्राध्यापक रहने प्रचलनलाई “पिरामिड संरचना” भनिन्छ। तर अहिलेको विज्ञापनले यो शैक्षिक संरचनात्मक सन्तुलनलाई उल्लंघन गरेको भन्दै कडा आलोचना भइरहेको छ।
शिक्षा क्षेत्रका विज्ञहरूले पनि त्रिविले बढुवा प्रक्रिया गर्दा शैक्षिक आवश्यकता, संकायगत सन्तुलन, र गुणस्तरीय मापदण्डलाई प्राथमिकता दिनु पर्नेमा जोड दिएका छन्।