काठमाडौँ, जेठ १९ – गृहमन्त्री रमेश लेखकको उपस्थितिमा सोमबार बिहानदेखि सुरु भएको सार्वजनिक यातायात व्यवसायीसँगको छलफल सकिएको छ।
गृह मन्त्रालयमा सम्पन्न बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिवको संयोजकत्वमा विभिन्न तीन–चार मन्त्रालयका प्रतिनिधि र यातायात व्यवसायीका प्रतिनिधिबीच संवाद भएको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए।
प्रवक्ता तिवारीका अनुसार छलफल सार्वजनिक यातायात प्रणालीलाई थप मर्यादित, व्यवस्थित र प्रभावकारी बनाउने विषयमा केन्द्रित थियो।
“कसरी सार्वजनिक यातायातलाई आधुनिक, सुरक्षित र नागरिकमैत्री बनाउन सकिन्छ भन्नेबारे छलफल भयो,” तिवारीले भने, “अब पनि यस्तै बैठकहरू जारी रहने छन् र हामी आशावादी छौँ कि व्यवसायीहरूले आन्दोलन फिर्ता लिनेछन्।”
यसअघि, गण्डकी प्रदेश सरकारले ल्याएको ‘राइड सेयरिङ’सम्बन्धी नियमावलीको विरोधमा सार्वजनिक यातायात व्यवसायीहरूले सोमबारदेखि देशभर सवारी साधन ग्यारेजमा थन्क्याउँदै अनिश्चितकालीन सवारी बन्द सुरु गरेका थिए।
सरकार र व्यवसायीबीचको संवादलाई निरन्तरता दिँदै समाधानको बाटो खोजिने गृह मन्त्रालयले जनाएको छ।