स्याङ्जा, जेठ २० – गृह मन्त्रालयले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमासिक (माघ–चैत्र) कार्यसम्पादन मूल्याङ्कनमा जिल्ला प्रशासन कार्यालय स्याङ्जा देशभर प्रथम स्थानमा परेको छ।
शान्ति सुरक्षा, अपराध नियन्त्रण, सेवा प्रवाह, सुशासन, लागू औषध नियन्त्रण, विपद् व्यवस्थापन, मुआब्जा वितरण र विकास सहजीकरण लगायतका सूचकमा उत्कृष्ट नतिजा देखाउँदै स्याङ्जाले १८.१२५ पूर्णाङ्क हासिल गरेको हो। गृह मन्त्रालयको मूल्याङ्कनका अनुसार देशका सबै जिल्लामध्ये यो सर्वोत्कृष्ट प्रदर्शन हो।
जिल्ला प्रशासन कार्यालय स्याङ्जाका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी दीपक पौडेलका अनुसार यो उपलब्धि कार्यालयका कर्मचारीहरूको समर्पण, सेवाग्राहीप्रतिको उत्तरदायित्व र दक्ष प्रशासनिक व्यवस्थापनको परिणाम हो।
चालु आर्थिक वर्षको पहिलो र दोस्रो त्रैमासिकमा प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत सुनिता नेपालले जन्म दर्ता र नागरिकता जस्ता आधारभूत सेवा प्राप्तिमा रहेको जटिलता समाधान गर्न सफल हुनु कार्यसम्पादनमा सघायक भएको मानिएको छ। हाल कार्यालयको नेतृत्व ईश्वरीप्रसाद अर्यालले गरिरहनुभएको छ।
प्रत्येक त्रैमासिकमा गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूबीच कार्यसम्पादन मूल्याङ्कन गर्दै आएको छ। यसले स्थानीय प्रशासनमा पारदर्शिता, जवाफदेहिता र सेवा सुधारका लागि मार्गनिर्देशन गर्ने विश्वास मन्त्रालयको रहेको छ।