
पक्राउ पर्नेहरूको गिरोह
काठमाडौँ, जेठ २० – अनलाइन डेटिङ साइट र सामाजिक सञ्जालमार्फत विभिन्न देशका नागरिकहरूलाई सम्पर्कमा ल्याई ८१ करोड रूपैयाँभन्दा बढीको जुवा कारोबार सञ्चालन गर्दै आएको गिरोहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले सोमबार ललितपुर महानगरपालिका–२६ स्थित जैनखेल भ्यु टावर र ललितपुर–१० स्थित नख्खुको सनराइज अपार्टमेन्टमा गरिएको अपरेशनमा पाँच जना भारतीय नागरिक र १२ जना नेपाली नागरिकसहित १७ जनालाई पक्राउ गरेको हो।
प्रहरी उपरीक्षक काजी कुमार आचार्यका अनुसार उनीहरूले घर तथा अपार्टमेन्ट भाडामा लिएर व्यावसायिक तवरमा अनलाइन जुवा (सट्टाबाजी) सञ्चालन गरिरहेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानमा उनीहरू अनलाइन डेटिङ साइट र ह्वाट्सएप तथा इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालमार्फत प्रयोगकर्तालाई आकर्षित गरी जुवा खेल्ने वातावरण सिर्जना गर्ने गरेको पाइएको छ।
पक्राउ परेकाहरूको साथबाट प्रहरीले ल्यापटप र मोबाइल फोनहरू बरामद गरेको छ। ती डिजिटल उपकरणहरूको प्रारम्भिक फरेन्सिक विश्लेषणबाट झन्डै ८१ करोड ४७ लाख ५७ हजार ४ सय ४६ रूपैयाँ बराबरको अनलाइन जुवा कारोबार भएको पुष्टि भएको प्रहरीले जनाएको छ।
प्रहरीले उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ बमोजिमको जुवा वा सट्टाबाजीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको छ। पक्राउ परेकाहरूलाई हाल काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा राखी थप अनुसन्धान भइरहेको बताइएको छ।
पक्राउ पर्नेहरूको विवरण:
