काठमाडौं, साउन ६ — गृह मन्त्रालयको कर्मचारी भएको नक्कली परिचय दिँदै ठगी गर्दै आएका सिन्धुलीका गंगा हरि न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुली प्रहरीको सहयोगमा सिन्धुलीको भीमानबाट ४६ वर्षीय न्यौपानेलाई नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार न्यौपानेले पछिल्लो पटक गृह मन्त्रालयमा करार जागिर लगाइदिने भन्दै फर्जी फारम भराएर ठगी गरेको प्रमाण फेला परेको छ। उनी यसअघि पनि विभिन्न ठगी मुद्दामा समातिएका थिए।
उनीमाथि २०७५ जेठ २२ गते सहायक सेनानी बनाइदिन्छु भन्दै ठगी गरेको उजुरी दर्ता भएको थियो भने २०७९ पुस ७ गते अदालतको फैसला कीर्ते गरी लिखत सम्बन्धी कसुर गरेको आरोपमा पनि मुद्दा परेको पाइएको छ।
प्रहरीले ठगी शृंखलामा संलग्न अन्य व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको जनाएको छ।