पोखरा, असार २३।
पोखराको सडक छेउमा पानीमा रुँदै खेलिरहेको अवस्थामा एक बालक फेला परेका छन्। आफनो नाम सन्देश बताउने ती बालकले घर उदयपुर जिल्ला वडा नं. ७ भएको जनाएका छन्। सात वर्षजतिको अनुमान गरिएका बालकलाई पोखरामा भेटिएकै स्थानमा तीन जना युवाहरूको समूहले उद्धार गरी बैदम प्रहरी चौकीमा बुझाएका छन्।
सन्देशलाई फेला पार्ने सुवाश काफ्लेले भने, “हामी तीनजना साथी थियौँ। उसलाई एक्लै रुँदै गरेको देख्यौँ। उसले नाम र जिल्ला त भन्यो, तर अरु केही भन्न सकेन। उसले लगाएका कपडासमेत पुराना थिए। हामीसँग धेरै पैसा त थिएन, तर मानवीय भावनाले एउटा ज्याकेट र कट्टु किनेर लगाइदियौँ।”
उक्त समूहले बालकको सुरक्षाका लागि तत्कालै बैदम प्रहरी चौकीमा फोन गरी जानकारी गराएको र हाल बालक प्रहरीको जिम्मामा सुरक्षित रहेको काफ्लेले जानकारी दिए।
बालक आफन्तसम्म पुग्न सकून् भन्ने उद्देश्यले सहयोगी युवाहरूले बालकको फोटोसमेत सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्।