बाँकेको कोहलपुर नगरपालिका–३ स्थित बागेश्वरी इङ्ग्लिस मिडियम स्कूलमा अध्ययनरत तीन जना बालक असार २२ गतेदेखि विद्यालयबाट सम्पर्कविहीन भएका छन्।
कक्षा ८ मा अध्ययनरत १५ वर्षीय निरज थापा, १३ वर्षीय पवननाथ योगी र १२ वर्षीय रोबिन्द्र खड्का विद्यालयबाट दिउँसो छुट्टीपछि बेपत्ता भएका हुन्।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) लक्ष्मी खनालले बालकहरू बेपत्ता भएको जानकारी पाएलगत्तै खोजी कार्य सुरु गरिएको बताउनुभयो।
डीएसपी खनालका अनुसार, भारतमा रहेका आफन्तहरू मार्फत पनि खोजी कार्य भइरहेको छ। यद्यपि तीन दिन बितिसक्दा पनि उनीहरूको अवस्था अज्ञात नै रहेको परिवारजनले बताएका छन्।
खोजीमा नेपाल प्रहरी र अनुसन्धान ब्यूरो सक्रिय
विद्यार्थीहरू बेपत्ता भएपछि विद्यालय प्रशासनले इलाका प्रहरी कार्यालय कोहलपुरमा जानकारी गराएको थियो। त्यसैका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) लाई पनि पत्राचार गरिएको प्रहरीले जनाएको छ।
बेपत्ता बालकहरूका परिवार चिन्तित छन्। "तीन दिन भइसक्यो, अझै पनि केही अत्तोपत्तो छैन", एक अभिभावकले भावुक हुँदै भने, "हामी सरकार, प्रहरी र सम्बन्धित निकायसँग छोराहरू सकुशल फर्काइदिन आग्रह गर्छौं।"