काठमाडौं – अध्यागमन विभागले नेपाल प्रवेश गरेका तीन जना इन्डोनेशियाली महिलालाई नियन्त्रणमा लिएको छ। उनीहरूमध्ये एक महिला एक वर्षअघि अध्ययन र पर्यटक भिसामा नेपाल आएकी थिइन्।
ललितपुर धोबिघाटस्थित हिमालय शिक्षा तथा हितेशी समाज नामक संस्थामार्फत उनीहरूले गल्र्स होस्टेल सञ्चालन गर्दै आएका थिए। उक्त संस्थामार्फत टर्की र कुरान भाषा सिकाउने, साथै मुस्लिम धर्मसम्बन्धी प्रचार–प्रसार गतिविधि सञ्चालन भइरहेको विभागले जनाएको छ।
जाँचका क्रममा ती महिलाहरू टर्कीस्थित एक धार्मिक संस्थाबाट वार्षिक करिब दुई करोड ५० लाख रुपैयाँ बराबरको सहयोग प्राप्त गर्दै आएको तथ्य खुलेको छ। नियन्त्रणमा लिनु अघि सो होस्टेलमा करिब ५० जना छात्रा कुरान सिकिरहेको अवस्थामा भेटिएका थिए, तर ती छात्रा अन्य शैक्षिक गतिविधिमा संलग्न नरहेको विभागको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।
अध्यागमन ऐन २०४९ र नियमावली २०५१ अनुसार, अध्ययन वा पर्यटक भिसामा नेपाल आएका विदेशीले कुनै उद्योग, व्यवसाय वा धार्मिक प्रचार–प्रसार गर्ने अनुमति पाउँदैनन्। नियम उल्लंघन गरेमा ५० हजार रुपैयाँसम्म जरिवाना वा निष्कासनको व्यवस्था छ।
नेपालमा भिसा दुरुपयोग गर्ने विदेशीहरूको गतिविधि नयाँ–नयाँ स्वरूपमा देखिँदै आएको छ। केही समयअघि विभागले एक फ्रान्सेली महिलालाई लैनचौरबाट पक्राउ गरेको थियो, जसले पर्यटक भिसामा क्याफे सञ्चालन गरिरहेकी थिइन्। त्यस्तै, दुई साताअघि मात्रै तीन चिनियाँ, दुई मोरक्को र एक बंगलादेशी नागरिक समेत गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिइएका थिए।
अध्यागमन विभागले भिसा दुरुपयोग नियन्त्रण गर्न निगरानी र कारबाहीलाई थप कडाइ गरेको जनाएको छ। हालैको इन्डोनेशियाली महिलासम्बन्धी घटना भने धार्मिक प्रचार र शैक्षिक दुरुपयोगको संवेदनशील उदाहरणका रूपमा देखिएको विभागको भनाइ छ।