साउन २८, भक्तपुर । राजधानीसँग जोडिएको ऐतिहासिक शहर भक्तपुरको व्यस्त बजार क्षेत्रमा गाईजात्रा पर्वका दिन केही युवामाथि भएको क्रूर आक्रमणबारे प्रहरीलाई तीन दिनसम्म थाहा नपाउँदा सुरक्षा व्यवस्थाप्रति गम्भीर प्रश्न उठेको छ।
घटनाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि मात्रै प्रहरीले अनुसन्धान थालेको हो। आइतबार राति भक्तपुर नगरपालिका–५ तौमढी न्यातपोल मन्दिरअगाडि युवाबीच झडप भएको भिडियो सार्वजनिक भएपछि प्रहरीले मंगलबार तीन जनालाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज न्यौपानेका अनुसार पक्राउ पर्नेमा ललितपुर कोन्ज्योसोम गाउँपालिका–१ का महेश तामाङ (२२), भक्तपुर नगरपालिका–५ भेलुखेलका अमन देउला (३४) र भक्तपुर नगरपालिका–५ साकोठाका राज कपाली (३४) रहेका छन्। अन्य संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार घटनाबारे कुनै उजुरी नआएको र घाइते फेला नपरेकाले अनुसन्धान ढिलो भएको हो। मंगलबार मात्र भनपा–५ का सुशन बादिकार (२४) र भनपा–३ वंशगोपालका सागर वज्राचार्य (२९) सम्पर्कमा आएका छन्। उनीहरू घरमै स्वास्थ्यलाभ गरिरहेका छन्।
भिडिओमा युवाहरूले लाठी, मुक्का र लात्तीसमेत प्रयोग गरेको देखिन्छ। जात्रा नाचमा प्रचलित लट्ठी प्रयोगकै क्रममा झगडा भएको प्रारम्भिक बुझाइ प्रहरीले गरेको छ। तर, किन झडप भयो भन्ने खुल्न बाँकी छ।
प्रहरीको ढिलासुस्तीप्रति सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। सहरको बीचमा भएको यस्तो घटना तीन दिनसम्म सार्वजनिक नहुनु र उजुरी नपर्नु रहस्यमय भएको जनाइएको छ। प्रहरीको प्रारम्भिक अनुमानमा, घटना आन्तरिक मिलेमतोमै दबाइएको हुन सक्ने सम्भावना पनि रहेको छ।
प्रहरीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाबारे विवरण सार्वजनिक गरेको र थप अनुसन्धान जारी रहेको जनाएको छ।