काठमाडौँ, साउन २८ — प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतको उपस्थितिमा उच्च अदालतका लागि नियुक्त २७ जना न्यायाधीशले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
सर्वोच्च अदालतमा आयोजित कार्यक्रममा उच्च अदालत पाटनका मुख्य न्यायाधीश लालबहादुर कुँवरले शपथ गराएका हुन्। न्याय परिषद्को साउन २२ गतेको बैठकले उनीहरूलाई विभिन्न उच्च अदालत र इजलासमा पदस्थापन गरेको हो।
नवनियुक्तमध्ये न्याय परिषद्का सचिव यमबहादुर बुढामगर उच्च अदालत सुर्खेत, धादिङका गोपालप्रसाद बास्तोला पाटन, ओखलढुङ्गाका गिरिराज गौतम दिपायल, गुल्मीका युवराज गौतम विराटनगर, दाङका तेजनारायण पौडेल तुलसीपुर, पर्वतका प्रकाश ढुङ्गाना पाटन, उदयपुरका दीपककुमार खरेल पाटनमा पदस्थापित भएका छन्।
यसैगरी, गोरखाका शिवबहादुर रानाभाट पाटन, काठमाडौंका कमलप्रसाद पोखरेल जनकपुर, भक्तपुरका वासुदेव न्यौपाने पाटन, पाल्पाका दलबहादुर केसी तुलसीपुर, कपिलवस्तुका प्रकाशचन्द्र अधिकारी दिपायल, चितवनका रमेशप्रसाद ज्ञवाली पाटन, मोरङका उदयप्रसाद भट्टराई विराटनगर, मकवानपुरकी अवनी मैनाली भट्टराई पाटनमा पुगेका छन्।
अन्य नियुक्तिहरूमा पोखराका रजिष्ट्रार खड्गराज अधिकारी (दिपायल), सहन्यायाधिवक्ता शङ्कर खत्री (जनकपुर), सर्वोच्च अदालतका रजिष्ट्रार अच्युत कुइँकेल (पाटन), सहसचिव कोमलबहादुर खत्री (सुर्खेत) छन्। कानुन व्यवसायीबाट शर्मिला थापा विष्ट (पाटन), प्रतापसिंह ठकुराठी (तुलसीपुर), बालकृष्ण गैरे (पोखरा), निशा बानियाँ (तुलसीपुर), श्यामकुमार विश्वकर्मा (दिपायल) र अरुणकुमार पञ्जियार (विराटनगर) नियुक्त भएका छन्।