डायरीमै सबै कारोबारको विवरण
भट्टराईले आफ्नै हातले लेखेको डायरीमा भिजिट भिसा सेटिङका क्रममा असुल गरिएको रकम, रकम बुझाउने व्यक्ति तथा रकम जाने व्यक्तिहरूको विवरण उल्लेख गरिएको आयोग स्रोतले जनाएको छ। आयोगले ती विवरण र मोबाइल रेकर्ड मिलाएर प्रमाण संकलन गरेको हो।
गत जेठ ७ गते अख्तियारले निगरानी गर्दै गरेको अवस्थामा भट्टराईलाई कार्यालयबाटै नियन्त्रणमा लिएको थियो। उनी दैनिक ५० लाखभन्दा बढी रकम असुल गर्दै आएको सूचनाका आधारमा निगरानीमा परेका थिए। निगरानीकै बीच गृह मन्त्रालयले सरुवा गरे पनि आयोगले तुरुन्तै पक्राउ गरेको हो।
आयोगले अहिलेसम्म तीनवटा मोबाइल फोन र ल्यापटप बरामद गरी डिजिटल फरेन्सिक परीक्षण गरेको छ। अनुसन्धानका क्रममा भट्टराईले प्रत्यक्ष पैसा नलिई खगेन्द्र सुवेदी र कविता पौडेलमार्फत कारोबार गर्ने गरेको खुलेको छ।
सञ्जालका अन्य सदस्य पनि पक्राउ
आयोगले भट्टराईसँगै ग्रिनलाइन होलिडेजका सञ्चालक बालकृष्ण खड्का, सुवेदी र पौडेललाई पनि पक्राउ गरी अनुसन्धान गरिरहेको छ। उनीहरू भिजिट भिसाको सूची तयार पार्ने, विदेश जाने व्यक्तिहरूको नाम भट्टराईलाई उपलब्ध गराउने र त्यसअनुसार प्रस्थान अनुमति दिने जिम्मेवारीमा संलग्न रहेको पाइएको छ।
त्यस्तै, फेमिली होलिडेजका सञ्चालक दीपक भण्डारीलाई दुई साताअघि पक्राउ गरिएको छ। उनीहरू मिलेर भिजिट भिसाको सेटिङ गर्दै आएका थिए।
साढे दुई महिनाको प्रारम्भिक अनुसन्धानपछि अख्तियारले पहिलो चरणको अनुसन्धान अन्तिम चरणमा पुर्याएको छ। आयोगले चाँडै भट्टराईसहित संलग्न सहयोगीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्ने तयारी गरेको छ। दोस्रो चरणमा अध्यागमन विभागका अन्य कर्मचारी र संलग्न उच्चपदस्थ व्यक्तिहरूमाथि अनुसन्धान विस्तार गर्ने आयोगको योजना छ।