भदौ १ गते, काठमाडौँ । मुगु जिल्लाको सोरु गाउँपालिकामा सडक निर्माण योजनामा अनियमितता भएको आरोपमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत (सीडीओ) वीरेन्द्र मल्लसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार आर्थिक वर्ष २०७७/७८ मा सोरु गाउँपालिका–१ स्थित जवलधारा पीसीसी सडक निर्माण योजनामा वास्तविकभन्दा बढी मूल्यांकन गरी रकम हिनामिना भएको पाइएको हो।
अनुसन्धानपछि गाउँपालिकाका इन्जिनियर प्रकाश आचार्य, सब–इन्जिनियर जगतबहादुर मल्ल, लेखापाल जेठबहादुर बुढा, योजना शाखा प्रमुख नवीन बुमी, उपभोक्ता समिति अध्यक्ष चक्रबहादुर छत्याल, सह–संयोजक विष्णु छत्याल, कोषाध्यक्ष घोगीसरा शाही र सचिव मुकुन्दे दमाईमाथि समेत मुद्दा दायर भएको आयोगले जनाएको छ।
त्यस्तै, कार्यपालिका सदस्य तथा अनुगमन समिति संयोजक दलवीर सार्की, समिति सदस्य पुने शाही र तत्कालीन वडाध्यक्ष मिसिन्द्र शाहीसमेत प्रतिवादी बनाइएका छन्।
आयोगका अनुसार मुख्यमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ३६ लाख ४० हजार रुपैयाँ र जनश्रमदान ३ लाख ७३ हजार रुपैयाँ बराबर गरी करिब ४० लाख रुपैयाँमा सम्झौता भई २०७८ जेठ १० गते कार्यादेश दिइएको सडक निर्माण योजनामा लागत अनुमानअनुसार काम नगरी, गलत नापी किताब र कार्यसम्पन्न प्रतिवेदन पेश गरेर भ्रष्टाचार गरिएको हो।
यसअनुसार प्रतिवादीहरूमाथि ७ लाख ६ हजार ७९९ रुपैयाँ बिगो कायम गरिएको छ। अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम कैद र जरिवाना सजायसमेतको मागदाबी गर्दै आइतबार विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको जनाएको छ।