Breaking Posts

6/trending/recent
Type Here to Get Search Results !

इजरायलको हवाई आक्रमणमा यमनका प्रधानमन्त्री अहमद गालिब अल–रहवी मारिएका


भदौ १६ गते । इजरायलको हवाई आक्रमणमा यमनमा हुथी विद्रोहीका प्रधानमन्त्री अहमद गालिब अल–रहवी मारिएका छन् । यमन अहिले हुथी विद्रोहीको कब्जामा छ । सो घटनामा आफ्ना प्रधानमन्त्री मारिएको हुथी विद्रोहीले पुष्टि गरेको बिबिसीले जनाएको छ । हुथी विद्रोहीले गाजा युद्ध सुरु भएयताको यो सबैभन्दा ठुलो क्षति भएको र कुनै वरिष्ठ अधिकारीको पहिलो मृत्यु भएको जनाएको छ ।


इजरायल डिफेन्स फोर्सेस (आइडिएफ) ले यमनको राजधानी सानालाई लक्षित गरेर आक्रमण गर्दा अन्य कैयौँ वरिष्ठ अधिकारी पनि मारिएको इरान समर्थित समूहले जनाएको छ । आइडिएफका अनुसार इजरायली लडाकु विमानले साना क्षेत्रमा भेला भएका मानिसमाथि आक्रमण गर्दा रहावी र अन्य वरिष्ठ हुथी अधिकारी मारिएका थिए । 


सन् २०१४ यता हुथी विद्रोहीले सानाबाट अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारलाई सत्ताच्यूत गरी विनाशकारी गृहयुद्ध सुरु गरेपछि उत्तर–पश्चिमी यमनको अधिकांश भूभाग आफ्नो नियन्त्रणमा लिएका छन् । रहावीले सन् २०२४ को अगस्टयता प्रधानमन्त्रीका रूपमा काम गर्दै आएका थिए । हुथी विद्रोहीले रहावी र केही हुथी मन्त्रीसँगै मारिएको दाबी गरे पनि अन्यको भने नाम खुलाएको छैन ।


साउदी अरेबियाको समाचार साइट अल हदाथका अनुसार सो घटनामा हुथी विद्रोहीका विदेशमन्त्रीका साथै न्याय, युवा तथा खेलकुद, सामाजिक मामिला र श्रममन्त्री मारिएका छन् । हुथी विद्रोहीका राष्ट्रपति महदी अल मसतको कार्यालयले आक्रमणका कारण अन्य कैयौँ मन्त्री घाइते भएको जनाएको छ । अब हुथी विद्रोहीका उपप्रधानमन्त्री मुहम्मद अहमद मिफ्ताहले रहावीको भूमिका समाल्ने उक्त कार्यालयले बताएको छ ।

Top Post Ad

post bottom ads

Ads Bottom