असोज ११ गते । दशैंका लागि घर फर्किरहेका यात्रु सवार भएको विद्युतीय गाडी (इभी) शनिबार बैतडीमा दुर्घटना हुँदा १० जना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
धनगढीबाट पुर्चौडी जाँदै गरेको सु.प.प्र.०२००१ ज ६२० नम्बरको विद्युतीय गाडी सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा शनिबार दिउँसो ३ बजेतिर करिब २५ मिटर तल खसेको हो । गाडीमा चालकसहित १८ जना सवार रहेका थिए ।
घाइते हुनेमा पुर्चौंडी नगरपालिका–५ का १५ वर्षीय भुवन साउँद, २८ वर्षीया यशोदा साउँद, ५ वर्षीय कोबित पन्त, २८ वर्षीया पवित्रा पन्त, १९ वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी, १७ वर्षीय विकास साउँद, पुर्चौंडी–४ का १९ वर्षीया कमला धानुक र २२ वर्षीय प्रकाश धानुक तथा पुर्चौंडी–३ की २२ वर्षीया सावित्री धामी रहेका छन् ।
घाइतेहरूलाई स्थानीय प्रहरी टोलीले उद्धार गरी डडेल्धुरा अस्पतालमा भर्ना गरिएको छ ।
यस दुर्घटनापछि सवारी चालक महेश बोहरा फरार रहेका प्रहरीले जनाएको छ । फरार चालकको खोजी कार्य तथा दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरीक्षक दलदेव बडूले जानकारी दिनुभयो ।




